काठमाडौं– विश्व हिन्दू महासङ्घ नेपालले देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्याका घटना बढ्न थालेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रुपन्देहीको देवदह नगरपालिका–१० आसामटोलका ज्ञानबहादुर केसीले सोही स्थानका रामप्रसाद पराजुलीलाई गाई बाच्छा पाल्न दिएकामा गाई हरायो भन्ने बहाना बनाई रोहिणी सामुदायिक वनमा खाडल खनेर पुरेको अवस्थामा भेटिएको थियो।
हत्यामा संलग्न पराजुली, सुकबहादुर परियार र प्रदीप पुन पक्राउ परी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएकाले कसैको दबाबका भरमा नछोडी कानूनी कारवाहीको दायरामा ल्याउन महासङ्घले सरकारसँग जोडदार माग गरेको छ। गाई हत्या घटनाका दोषीलाई कानूनी कारवाहीको माग गरिएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दलका नेताको दबाबमा यस्ता घटनाका दोषीलाई कारवाही नगरी छोडिँदा घटना दोहोरिने गरेकाले पनि गौहत्यामा कमी आउन नसकेको महासङ्घले जनाएको छ। रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा पनि गाई मारेर छाला र भुँडी पोखरीमा फालिएको अवस्थामा फेला परेको उनले बताएका छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको मौका छोपेर गाई मार्ने क्रम बढेकाले प्रहरी प्रशासनले गम्भीररूपमा यस्ता घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरमा ल्याउनुपर्ने महासङ्घको माग छ। बन्दाबन्दीपछिको डेढ महिनाका क्रममा देशका अन्य भागमा पनि यस्ता घटना भइरहेका सूचना प्राप्त भएको महासङ्घका महासचिव न्यौपानेले बताएका छन्।
वैदिक सनातन धर्मावलम्बीले गौमाताका रूपमा पुज्ने गाईको हत्या नरोकिए महासङ्घ आन्दोलनमा उत्रन बाध्य हुने महासचिव न्यौपानेले बताएका छन्। केही समूह जातीय र साम्प्रदायिक सद्भाव भड्काउन यस्ता घटनामा संलग्न हुनसक्ने सूचना प्राप्त भएकाले पनि गम्भीररूपमा छानबिन र अनुसन्धान गर्नपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ। रासस