१. सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाईसक्यो : देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । सिंगो मुलुक कोरोनाविरुद्धको लडाइमा होमिएका बेला अलोकतान्त्रिक र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेर सरकारले शासन गर्ने आधार गुमाएको देउवाको तर्क छ ।
२. बाबुराम भट्टराईद्वारा प्रधानमन्त्रीको राजीनामा माग
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा काेही ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीकाे राजीनामा माग गरेका हुन्।
३. कोरोना महामारीबिच सरकारले भष्ट्राचार गरिरहेको महताेकाे आरोप
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताेले सरकार कोरोना भाइरसको महामारीसँग जनता लडिँरहेको बेला भष्ट्राचार गरिरहेको आरोप लगाएका छन्।
४. नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपालमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या १ सय २ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाकाले शुक्रबार भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।
५. भारतबाट ६ हजार भित्रिए, एक हजारको मात्रै परीक्षण
आरडिटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन। जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन्।
६. थप ८ जना कोरोनामुक्त
प्रदेश १ मा ८ जनामा कोरोनाभाइरस (कोभिड–¬१९) निको भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या ३० पुगेको छ। कोशी अस्पतालमा उपचाररत उनीहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गरिएको छ।
७. राष्ट्रियसभामा तीन अध्यादेश पेश
राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ। प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” गरे।
८. सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ
सङ्घीय संसद (प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
९. स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएको छ। उनले भने, वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ।
१०. निषेधित क्षेत्र तोड्ने चिनियाँ पक्राउ
नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिएका छन्।
११. एकहप्तामा पाँच जना डेङ्गु सङ्क्रमित
हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ। बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो।