व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा रु दश लाख जम्मा गरेको छ। उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई सोबराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन्।
भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताएका छन्। प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म रु १४ करोड जम्मा भएको छ।
कोषमा प्रदेश सरकारले रु दश करोड जम्मा गरेको थियो । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ। प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ। (रासस)