नेपालमा लकडाउन खुकुलो हुँदै गर्दा सोमबार एकैदिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ ।
सोमबार विहान १० जनामा देखिएको कोरोना भाइरसको संक्रमण साँझ थप १३ जनामा पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, साँझ कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जना कपिलवस्तुका, ६ जना रुपन्देहीका र एक जना बर्दियाका छन् । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसअघि विहान कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० जना तथा सप्तरीका १ जनामा संक्रमण देखिएको थियो । यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकामा ६ जना संक्रमित थपिएका छन् । यसैगरी, रुपन्देहीमा संक्रमण पुष्टि भएकाहरु समरीमाई र लुम्बिनी सांस्कृतिक गाउँपालिकाका बासिन्दा हुन् ।
साँझ संक्रमण पुष्टि भएकाहरुमध्ये १२ जना पुरुष छन् भने एक जना ११ बर्षिया बालिका छिन् । संक्रमितहरुको स्वास्थ अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउन खुकुलाे बनाउँदै गर्दा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या भने तिब्र गतिले बढ्न थालेकाे छ ।