काठमाडाैं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमार्फत पठनपाठन गराउन ‘सिकाइ चौतारी’ नामक इ- लर्निंग पोर्टल सञ्चालनमा ल्याएकाे छ। कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिने उद्देश्यका साथ याे अनलाइन पोर्टल तयार पारेको हाे।
यसमा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यसामग्री राखिएको छ, जुन नेपाली र अङ्ग्रेजी दुबै भाषामा उपलब्ध रहेकाे छ। पोर्टलमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्न र बुझ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ। अनलाइन लर्निङ प्लेटफर्ममा राखिएका सामग्री पाठ्क्रमअनुसार रहेका छन्।
यसका साथै यसमा कथा संग्रहदेखि विद्यार्थीहरुका लागि अभ्यास पुस्तिकासमेत राखिएको छ। पोर्टलमा सागग्री राख्ने क्रम अझै जारी रहेको केन्द्रका निर्देशक गेहनाथ गौतमले बताएकाे छ। उनका अनुसार पोर्टलमा समावेश यी सामग्रीहरूलाई डाउनलोड गरेर जुनसुकै बेला अध्ययन गर्न सकिने छ।
केन्द्रले तयार पारेको सामाग्रीहरु लर्निङ डट सिइएचआरडि डट जिओभी डट एनपी (http://learning.cehrd.gov.np/) वेबसाइटमा गएर पढ्न तथा डाउनलोड गर्न सकिने छ।