तनहुँ– लकडाउन समयमा दमौली अस्पतालमा सञ्चालित डायलाइसिस केन्द्रमा करीब दुई हप्ता रगत अभाव देखिए पनि अहिले आपूर्ति भएको छ। नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार प्राविधिक सहयोगमा एक हप्ताका अवधिमा पाँच संस्थाले रक्तदान कार्यक्रममार्फत १३५ पिण्ट रगत संकलन गरी अस्पताललाई हस्तान्तरण गरेका छन्।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल तनहुँले ३०, नेपाल तरुण दलले ३०, जेसिआई दमौलीले २८, नेविसंघ तनहुँले ३६ र नेपाल रेडक्रस सोसाइटीले एक हजार एक सय पिण्ट रगत केही दिनअघि संकलन गरेका थिए। सिद्धार्थ बचत तथा ऋण सहकारीले भने ३६ पिण्ट संकलन गरी पोखरा पठाएको नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार शाखाका प्राविधिक जसोदा थापाले जानकारी दिएका छन्।
लकडाउन समयमा एकदुई हप्ता रक्ताभाव देखिए पनि डायलाइसिसका बिरामीलाई उपचार नरोकिएको उनले बताएका छन्। दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा केही समूहका रगत अभाव हुँदा उपचारमा समस्या भएको थियो। उक्त केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको डायलाइसिस केन्द्र दमौलीका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिएका छन्।
ऋषिङबासी खानेपानीबाट लाभान्वित हुँदै
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएको विकट बस्ती ऋषिङ गाउँपालिका–६ का करीब एक हजार बासिन्दा लाभान्वित हुने भएका छन्। बस्तीदेखि मुनि रहेको घिरोदी खोल्सीको मुहानको पानी करीब पाँच सय मीटर उचाइमा तानी गाउँमा खानेपानी बितरण गर्न थालेपछि त्यसक्षेत्रका बासिन्दा लाभान्वित हुन लागेका हुन्।
गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिमार्फत ऋषिङ्ग–६ का १४० र ढुङगाडेका ५० घरधुरी गरी एक सय ९० घरधुरीका बासिन्दा लाभान्वित हुन लागेको ऋषिङ –६ का वडाध्यक्ष भक्तबहादुर आलेले बताएका छन्।
संघीय सरकारको रु.३५ लाख, गण्डकी प्रदेश सरकारको रु.२५ लाख गरी रु ६० लाख र ४० प्रतिशत जनसहभागितामा उक्त आयोजना सम्पन्न गर्न लागिएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिएका छन्। रासस