लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता र कार्यकर्ता मंगलबार काठमाडौंमा पक्राउ परेका छन्।
रत्नपार्कमा प्रदर्शन गर्न लाग्दा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, मधु जीसी लगायत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु सबैलाई पुलिस क्लबमा राखिएको छ।
विवेकशील दलकी नेतृ रञ्जु दर्शनालगायतको टोलीलाई पनि मंगलबार नै पक्राउ गरेर पुलिस क्लबमै राखिएको छ।
काठमाडौंमा दुइदिनदेखि लकडाउनको बेला पनि भारत विरोधी प्रदर्शनहरु हुन थालेका छन्। प्रहरीले प्रदर्शनकारीलाई दिनभरि थुनेर बेलुका छाड्ने गरेको छ।