१. नेपालमा एकैदिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७ पुग्यो
नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, रुपन्देही, कपिलवस्तु, महोत्तरी, धनुषा, सर्लाही, बारा, भक्तपुर र काठमाडौंमा गरी ८३ जनामा संक्रमण पुष्टि भएको हाे ।
२. संक्रमण बढ्न थालेपछि लकडाउनमा थप कडाई, जिल्लाबाहिर जाने सबैखालका सवारीको पास रद्द
मुलुकमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्न थालेपछि सरकारले लकडाउन अझै कडा बनाएको छ। एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक्ने निर्णय गरेको छ। त्यसका लागि एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरिएको छ।
३. वीरगञ्जमा ५ गतेसम्म निशेधाज्ञा, सेनासमेत परिचालन गरिने
पर्साको बीरगञ्जमा मगंलबार राती ८ बजेदेखी नै लागु हुनेगरी निशेधाज्ञा जारी भएको छ। वीरगञ्जमा मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निशेधाज्ञा जारी गरिएको हो। स्थानिय प्रशासनले निशधाज्ञा कार्यान्वयनका लागि सेना समेत परिचालन गर्ने निर्णय गरेको छ।
४. सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
५. नेकपाले बोलायो बुधबारको लागि स्थायी कमिटी बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले बताए। बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए। त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो।
६. प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता बेहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता बेहोर्न नपर्ने बताएका छन्।
७. बजेटमा रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सुझाव
सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
८. काठमाडौंमा एक सातामा ७ हजारको पिसिआर परीक्षण गरिंदै
काठमाडौंमा ७ हजार बढी जनाको कोरोनाभाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गरिने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको एक हप्ताभित्र राहत वितरणमा सहभागी जनप्रतिनिधि, सरसफाइ कर्मचारी र स्वास्थ्यकर्मी सबैको पिसिआर परीक्षण गर्न लागिएको हो।
९. कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘सिकाइ चौतारी’ नामक इ-लर्निंग पोर्टल सञ्चालनमा
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमार्फत पठनपाठन गराउन ‘सिकाइ चौतारी’ नामक इ- लर्निंग पोर्टल सञ्चालनमा ल्याएकाे छ। कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिने उद्देश्यका साथ याे अनलाइन पोर्टल तयार पारेको हाे।
१०.भारतले गरेको सीमा अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका जनमाेर्चाका १३ जना पक्राउ
लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता र कार्यकर्ता मंगलबार काठमाडौंमा पक्राउ परेका छन्।रत्नपार्कमा प्रदर्शन गर्न लाग्दा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, मधु जीसी लगायत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु सबैलाई पुलिस क्लबमा राखिएको छ।
११. आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बुद्धको ‘होलिडे प्याकेज’
निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड–१९ पछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय आकर्षक प्याकेज सार्वजनिक गरेको छ।सरकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको हो।
१२. सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द
कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो।
१३. भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत
संघीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ। नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ।