काठमाडाैं– धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ। धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो।
कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिनुभयो। नेप्सेले कुनै समस्या भएमा टोल प्र्रmी नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउँदै छ। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औँ दिनमा खुल्न लागेको हो। दोस्रो बजार कारोवार तत्कालका लागि दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालन हुनेछ। रासस