एजेन्सी- फेसबुकको स्वामित्वमा रहेको विश्वकै सबैभन्दा लोकप्रिय च्याटिङ एप ह्वाट्सएपले अब भिडियो कलमा एकसाथ ५० जनासम्म जोडिन मिल्ने फिचर ल्याउने भएकाे छ। कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले साे फिचर थप गर्ने तयारी गरेको हो।
ह्वाट्सएपको सो अपडेटबारे जानकारी WABetaInfo (डब्लुएबेटाइन्फो) ले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको हो।
डब्लुएबेटाइन्फोकाे अनुसार फेसबुकले ह्वाट्सएपमा म्यासेन्जर रुम्सको परीक्षण गरिरहेको छ। जुन वेब भर्सनको लागि छिटै उपलब्ध गराइने जनाएकाे छ। याेसँगै अब म्यासेन्जर रुम्स ह्वाट्सएप वेबमा पनि उपलब्ध हुने छ। जसमा ग्रुप भिडियो कल गर्दा ५० जनासम्म एकसाथ सहभागी हुन पाउने छन्।
यो सुविधा पहिलो चरणमा वेब भर्सनमा सार्वजनिक हुने छ र परीक्षण पछि भने कम्पनीले यो फिचर सबै आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गराउने जनाएको छ।
यस्तो नयाँ फिचर थप भएसँगै ह्वाट्सएपको अब जुम, गुगल मिट, हाउसपार्टी र डुओ जस्ता चर्चित भिडियो कन्फ्रेरेन्स प्लाटफर्महरुसँग प्रतिस्पर्धा हुने भएको छ।
के हाे त म्यासेन्जर रुम्स ?
म्यासेन्जर रुम्स एउटा यस्तो ठाउँ हो जहाँ सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु पनि गर्न सकिने छ। म्यासेन्जर रुम्समा असिमित समयसम्म कुराकानी गर्न सकिने छ यसको लागि कुनै समयसिमा तोकिएको छैन।
सामुहिक भिडियो कल गर्नको लागि फेसबुकमा ग्रुप बनाए जस्तै म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि इनभाइट गर्न सकिन्छ। फेसबुक प्रयोग नगर्नेहरूले पनि भिडियो कलमा सामेल हुन सक्नेछन्।