नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन)को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ। कोरोना भाइरस कोभिड १९०का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिएका छन्। उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको बताएका छन्।
नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ। उनका अनुसार अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिएको छ। अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन्। यसैगरी नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरिएको छ।
लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो। नगरपालिका मातहतका ४० उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ। ती उपभोक्ताले रु ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन्।
यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ। उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युत्को पोल गाड्ने र खानेपानीका काम सञ्चालन भएको बताएकशम छन्। उनले कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताएका छन्। (रासस)