सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ। धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन्।
सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो। त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो। मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो।
काठमाडौँबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए। सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन्। क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताएका छन्।
उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वा्स्थित रहेको क्वारेन्टाइनमा पुर्याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिएका छन्। सङ्क्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उनले बताएका छन्। यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो। अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ। रासस