प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले गरेको सिमा अतिक्रमणका सम्बन्धमा बुधबार विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पुर्वप्रधानमन्त्रीहरुसँग परामर्ष गरेका छन् । परामर्षमा दलका प्रतिनिधि तथा पुर्वप्रधानमन्त्रीहरुले सिमा अतिक्रमणका सम्बन्धमा तत्काल भारतसँग उच्च तहमा समाधानउन्मुख वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
उनीहरुले त्यसका लागि सरकारलाई आफूहरुको साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाएका छन्। परामर्षका क्रममा प्रधानमन्त्री ओलीले भारतसँगको सिमा समस्या समाधानका लागि कुटनितिक माध्यम नै उपयुक्त रहेकाले छिट्टै वार्ता प्रक्रिया अघि बढाइने बताएको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले सिमा समस्या समाधानका लागि प्रस्ताव गरिएको दुइपक्षीय वार्ता कोरोनाको कारण देखाउँदै विलम्ब गरेको भारतीय पक्षले महामारीकैवीच एकतर्फिरुपमा नेपाली भूमिका सडक निर्माण शुरु गरेकोमा असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीले भने, "सिमा विवाद नटुंगिएको विषय हो भन्ने स्विकार गरेको भारतले एकतर्फिरुपमा नेपाली भुमिमा कसरी सडक निर्माण शुरु गर्न सक्छ, यसबारे सरकार गम्भिर छ।"
मन्त्री ज्ञवालीले सिमाक्षेत्रमा नेपालले भौगोलिक र प्रशासनिक उपस्थिति देखाउन शुरु गरिसकेको बताए ।