नवलपरासी– नवलपरासी–बर्दघाट–सुस्ता पश्चिम जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट ५ दिनअघि लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ। संक्रमण देखिएका प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै वैशाख २८ गते नेपाल प्रवेश गरेका थिए।
नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन्। ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए।
स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा दिदीको घरमा तीन दिन बिताएर नेपाल प्रवेश गरेका थिए।
संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ। जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ। अझै पनि नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नरोकिएपछि जिल्लामा डर बढेको हो। रासस