दमौली– बन्दाबन्दीका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन्। बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेको भन्दै स्थानीयवासीले बुधबारदेखि रिले अनशन शुरु गरेका छन्।
रातिको समयमा सवारी साधनबाट कच्चा पदार्थ ल्याउने क्रम नरोकिएपछि सुरक्षाका लागि उद्योग बन्द गर्नपर्ने मागसहित रिले अनशन शुरु गरिएको स्थानीयवासी किसान गुरुङले जानकारी दिएका छन्। ‘कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्’, उनले भने, ‘काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
उनको अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनसन साँझ ६ बजेसम्म जारी रहनेछ। ‘सामाजिक दूरी कायम गर्दै शुरु गरिएको रिले अनसनमा यहाँका सबै स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्, ‘उनले भने, उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सूर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ। जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताएका छन्। बन्दाबन्दी अवधिभर उद्योगको काम पनि बन्द हुनपर्ने स्थानीयवासीको माग छ।
उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिएका छन्। उनको अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ। ‘भित्रका कर्मचारीलाई बाहिर जान दिएका छैनाैँ, सुरक्षितरुपमा काम सञ्चालन गरिएको हो’, उनले भने, उद्योगको अनुगमन गर्न मङ्गलबार पुग्नुभएका नगरपालिकाका प्रमुख किसान गुरुङले कर्मचारीको सुरक्षालाई ख्याल गर्दै उद्योग सञ्चालन भएको पाइएको बताएका थिए। पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ। १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। रासस