सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आज अपरान्ह संघीय संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमका साथै मुलुकमा तिब्र गतिमा फैलिंदै गरेको कोरोना भाइरसको संक्रमणका सम्बन्धमा छलफल हुने गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल'ले जानकारी दिए ।
बैठकमा पटक पटक स्थगित गरिंदै आएको पार्टीको स्थायी कमिटि बैठकका सम्बन्धमा पनि छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका आनाकानीका वीच यसअघि दुइ पटक बोलाइएको स्थायी कमिटि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
बैसाख २५ गतेका लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो भने बैसाख ३१ गतेका लागि बोलाईएको बैठक डेढ घण्टाअघि स्थगित गरिएको थियो । यसबारे स्थायी समिति सदस्यहरुले तिब्र असन्तुष्टि जनाउँदै आएका छन् ।