सरकारको नीति तथा कायक्रमबारे छलफल गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिवालय सदस्यहरुले नीति तथा कार्यक्रमका लागि सुझाव दिएका थिए ।
बैठकको शुरुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सुझाव दिन आग्रह गरेपछि सदस्यहरुले महत्वपूर्ण सुझावहरु दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे पेश गर्ने कार्यक्रम छ ।
सचिवालयको आजको बैठकमा पटक पटक स्थगित गरिंदै आएको पार्टीको स्थायी कमिटि बैठकका सम्बन्धमा पनि छलफल हुने बताइएपनि त्यसबारे छलफल भएन । स्थायी कमिटिबारे नीति कार्यक्रम प्रस्तुत भइसकेपछि मात्र छलफल हुने श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीका आनाकानीका वीच यसअघि दुइ पटक बोलाइएको स्थायी कमिटि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
बैसाख २५ गतेका लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो भने बैसाख ३१ गतेका लागि बोलाईएको बैठक डेढ घण्टाअघि स्थगित गरिएको थियो । यसबारे स्थायी समिति सदस्यहरुले तिब्र असन्तुष्टि जनाउँदै आएका छन् ।