काठमाडौँ– काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ। बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो।
ती मध्ये ७०० जनाको आरडिटी र्यापिड डाइग्नोष्टिक टेष्ट र ३३४ जनाको पिसिआर पोलिमेयर चेन रियाक्सन परीक्षण गरिएको हो। आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिएका छन्।
सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ। सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुको आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो। कामपाका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् ।
अहिले उनीहरुको टेकुमा आरडिटी र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ। सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन्। रासस