काठमाडौँ– बन्दाबन्दी जारी रहँदा बजारमा खाद्य सामग्री लगायत अत्यावश्यक चीजबीजको मूल्य वृद्धि हुँदा बजार अनुगमन हुन सकेको छैन। उपत्यकाका काठ क्षेत्रमा बिहान बेलुका केही समय खुल्ने बजारमा पर्याप्त मात्रामा खाद्य सामग्री पाउन नसकिएको उपभोक्ताको गुनासो छ।
स्थानीय तहमा अनुगमन समितिको व्यवस्था भएपनि प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा पाइने सामानमा पनि रु १० भन्दा माथि भाउ बढेको शङ्खरापुर नगरपालिकावासी चन्द्रप्रसाद पुडासैनीले गुनासो गरेका छन्। बिहान बेलुका केही समयमात्र खुल्ने बजारमा उपभोक्ताको भीड लाग्छ। भीडका कारण रोगको सङ्क्रमण बढ्न सक्ने खतरा समेत रहेको उनको भनाइ छ।
गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पनि खाद्य सामग्रीको भाउ चैत पहिलो हप्ताभन्दा महङ्गो भएको छ। खाद्य सामग्रीको मूल्य होलसेलमै बढेको भन्दै खुद्रा व्यवसायीले पनि बढाएका हुन्। व्यवसायीले बढी मूल्य लिएपनि उपभोक्तालाई बिल भने दिँदैनन्। बन्दाबन्दीमा बिल पाइँदैन भनी व्यवसायीले टार्ने गरेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीका सुन्दरबहादुर तामाङले बताएका छन्र। नगर क्षेत्रमा अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक बिन्दु पुडासैनी सिम्खडा अनुगमनका क्रममा दाल, गेडागुडी जस्ता खाद्य सामग्रीमा पाँच प्रतिशतदेखि १० प्रतिशतसम्म भाउ बढेको भेटिएको जानकारी दिएका छन्। थोक बिक्रेताले नै भाउ बढाएको भन्दै नगर क्षेत्रका व्यवसायीले समेत बढी मूल्य लिएको पाइएको उनले सुनाएका छन्।
उपभोक्ता भने जनप्रतिनिधिले अनुगमन गरेपनि बढी मूल्य लिने, कृत्रिम अभाव गराउनेलाई चुनावमा मत नपाइने डरले कारबाही नगर्ने गरेको गुनासो गर्छन्। शङ्खरापुर नगरपालिका वडा नं.–१ का स्थानीयवासी पार्वती दङ्गाल कर्मचारीको नेतृत्वमा हुने बजार अनुगमन भने प्रलोभनका कारण प्रभावकारी नभएको बताउँछन्।
शङ्खरापुर नगरपालिकाकी उपप्रमुख एवं अनुगमन समिति संयोजक शुक्रलक्ष्मी श्रेष्ठ नगर क्षेत्रको ग्रामीण भेगमा पर्याप्त मात्रामा अनुगमन गर्न नसकिएको स्वीकारीकी छिन्। व्यवसायीले भण्डारमै भएको सामानको भाउ समेत बढाएको पाइएको उनले जानकारी दिएकी छिन्।
बिहान बेलुका खुल्ने भएकाले मूल्यसूची राख्न नसकिएको भन्दै व्यवसायीले बढी भाउ असुल्ने गरेका छन्। गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल अनुगमनका केही ठाउँमा बढी मूल्य लिएको भेटिएकाले अर्कोपटकदेखि बढी नलिने गरी चेतावनी दिएर छोडिएको जानकारी दिएकी छिन्। स्थानीय तहमा साधन, स्रोत एवं जनशक्तिको अभावमा आवश्यक भएजति अनुगमन गर्न भने नसकिएको अनुगमन समिति संयोजकहरुको स्वीकारोक्ति छ।
खाद्य सामग्री, निर्माण सामग्री, गाईवस्तुका आहार लिएर तराईबाट आएका ठूला ट्रक काठ क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित हुन थालेका छन्। कोरोना फैलिएको बारा पर्सा लगायत जिल्लाबाट सामग्री बोकेर आएका सवारीलाई असुरक्षित रुपमा शहरको भित्री भाग हुँदै जान दिन नहुने गोकर्णेश्वर नगरपालिका वडा नं.–२ का श्यामकृष्ण श्रेष्ठले बताएका छन्। रासस