काठमाडौं– कोरोना भाइरसको त्रास बढिरहँदा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधिको वितरण थालिएको छ। भक्तपुर होमियोप्याथिक मेडिकल कलेज भक्तपुर, पशुपति होमियोप्याथिक अस्पताल पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसिएसनलगायत नौ संस्थाको पहलमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कार्यस्थलमा अग्रपङ्क्तिमा खटिनपर्ने सुरक्षाकर्मी, स्वयंसेवी, मजदुर, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई यो औषधि बाँड्न थालिएको हो।
विभिन्न अनुसन्धानबाट कोभिड–१९ को जोखिम हुन नदिन ‘आर्से्निकम अल्बम ३० सी’ नामक होमियोप्याथिक औषधि प्रभावकारी देखिएको भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका चिकित्सक डा कृष्ण डङ्गोलले जानकारी दिएका छन्।
उनको अनुसार इजरालय र भारतमा यसको परीक्षण भइसकेको छ। कोभिड–१९ बाट सङ्क्रमित ६ हजारमा परीक्षण गरिँदा ११ जनामा मात्र सङ्क्रमण दोहोरिएको देखियो। अहिले बाँडिएको औषधि कोभिड–१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन हो।
सङ्क्रमितकै उपचारका लागि थप केही औषधि पनि सेवन गर्न लगाइन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वे्दिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि होमियोप्याथीको उक्त औषधिले वितरणका लागि स्वीकृति पाएको हो। यो औषधिको सेवनकर्ताले समय मिलाएर एक महिनाभित्र १२ गोली लिनपर्छ। पछिल्लोपटक यो औषधिको वितरण कार्यमा नेपाल राष्ट्रिय मारवाडी परिषद्, फसिकेब्वले सघाउन थालेको छ। रासस