काठमाडौं– कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो। २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर फर्किएका हुन्।
त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराएका छन्।
सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन–पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ। आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ। हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ। अहिलेसम्म आइसोलेसनमा २६७ रहेका छन्। प्रप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३७ हजार १४७ रहेको बताइएको छ। आज थप नौ जनामा परीक्षण पोजेटिभ देखिएको छ। सङ्क्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठ जना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन्। हालसम्म २५८ सङ्क्रमित रहेका छन्। जसमध्ये २१० पुरुष र ४८ महिला छन्। कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान र्यापिड डाइग्नोष्टिक टेस्ट–आरडिटी कीट पनि पठाएको छ। रासस