दिनेश गौतम
स्वास्थ्य
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा नेपाललाई कोभिड १९ को महामारीमुक्त देश बनाउनु पहिलो प्राथमिकता तोकिएको छ। यो महामारीबाट कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको उनले उल्लेख गरिन्।
हालसम्म मुलुकमा २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यद्यपि, संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले संक्रमणको परीक्षणलाई व्यापक बनाउने, औषधि, उपकरण र चिकित्सकलगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने जनाएको छ।
महामारीविरुद्ध विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकाले एकढिक्का भएर दृढतासाथ लाग्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्। ‘संक्रमण प्रारम्भ भएलगत्तै अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली र सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यो रोगको संक्रमणबाट सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं’, उनले भनिन्।
सरकारले कोराना महामारी लम्बिँदै गएको अवस्थामा थप प्रभावकारी कदम चाल्ने जनाएको छ। कार्यक्रमको पुनः प्राथमिकीकरण र समायोजनसमेत गरी स्रोत साधन परिचालन गरिने भएको छ। यो समाचार आाजको अन्नपूर्ण पोस्टमा छ।