बागलुङ, कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ। कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ। डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गु लागेको पुष्टि भएको छ। ‘बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेङ्गुको सङ्क्रमण भेटियो”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने।
सङ्क्रमित युवती गत सोमबार अस्पताल भर्ना भएको थियो। युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताएका छन्। उनले गर्मी बढेसँगै डेङ्गुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गरे। लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ”, उनले भने।
सो जातको लामखुट्टले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिँडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिए। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले शुक्रबार फेला परेको सङ्क्रमण यो वर्षको पहिलो भएको उल्लेख गरे। उनका अनुसार गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। ‘सङ्क्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय भइरहेको छ’, प्रमुख गुरौले भने।
लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उनको भनाइ छ। उनले डेङ्गु फैलिन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। डेङ्गुविरुद्धको अभियानमा स्थानीय तहको भूमिका र पहल महत्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ। स्वास्थ्य कार्यालयले गत वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ’, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम गरेको थियो।
डेङ्गुको परीक्षण सेवा धवलागिरि अस्पतालमा मात्र उपलब्ध छ। शङ्कास्पद देखिएका व्यक्तिमा डेङ्गु परीक्षण हुँदै आएको छ। डेङ्गु जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन्। डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ। गत महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेङ्गु देखिएको थियो। (रासस)