काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ कालिमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ। महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरुप वितरण गरेको हो।
नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष रामशरण डङ्गोलले सरसफाइका क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरुलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा संयोजक सुमिरा श्रेष्ठले कोभिड–१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताएका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहले राहत वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो आएको छ। पछिल्लो समय विभिन्न धार्मिक सङ्घसंस्था तथा समाजसेवीले यस्ता वर्गलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क भोजनको व्यवस्थासमेत गरेका छन्। रासस