१. मदन–आश्रित स्मृति दिवसः मुलुकको मुहार बदल्ने सङ्कल्प
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी– नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन्।
२. पार्टीभित्रको विवाद शक्ति संघर्ष हो : पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टी्भित्रका विवाद कम हुँदै गएको बताएका छन्।
३. थप दुई जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काभ्रेको २६ वर्षिय पुरुष र महोत्तरीका ५२ वर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको बताएका हुन्।
४. धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत सुतकेरीको मृत्यु
काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसन वार्डमा उपचाररत एक सुतकेरी महिलाको मृत्यु भएको छ। अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो।
५. कोरोना कहरबीच डेङ्गुको डर
बागलुङ, कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ। कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ। डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गु लागेको पुष्टि भएको छ।
६. नेपाली सेनाले झिकाएका स्वास्थ्य सामग्री राजधानी भित्रिँदै
कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ।
७. शिक्षण अस्पतालले भन्यो, अस्पतालकर्मीमा कोभिड–१९ सङ्क्रमण छैन
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ। शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिएका छन्।
८. युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३
कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन्।
९. भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा बढी
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चीनभन्दा भारतमा बढी रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा तीन हजार नौ सय ७० नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको छ।
१०. बलात्कार आरोपमा पक्राउ
जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन्। आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ।