काठमाडौँ — कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको अन्तिम संस्कारका लागि शनिबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शव ल्याइँदै मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्ने बताए। उनले भने, लकडाउनका बेला हामी घरमै बसेका थियौं। उनलाई कसरी कोरोना लाग्यो र सोचिराछु। हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं। टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ।
विवाह भएको १३ वर्ष भयो। मेरो घर र ससुराली सँगै हो। हाम्रो गोंगबुमा कोठा । यहीं तरकारी पसल गर्थ्यौं। पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं। मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले। हामी पनि जाने कि भन्ने सल्लाह गर्यौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो। गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं।
डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो। हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं। २४ गते बिहान ४ बजे सुत्केरी भइन्। छोरा जन्मियो। उनको अवस्था सामान्य थियो। २५ गते नै अस्पतालले डिस्चार्ज दियो। लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो गर्यौं। बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ। त्यसमै जाने भयौं । कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं। दोस्रो सन्तान शल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सुत्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए। खुसियाली साट्यौं
वैशाख ३१ गते राति उनले सास फेर्न गाह्रो भयो भनिन्। जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें। चिकित्सकले एक्सरे गरेर हेरे। छातीमा खराबी रहेकाले एन्टिबायोटिक चलाउनुपर्ने भएकाले सुत्केरीलाई जोखिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए। तर तत्काल एम्बुलेन्स पाइएन। बेलुका ७ बजे एम्बुलेन्स आयो। धुलिखेल अस्पताल ल्याइपुर्याउँदा साढे ९ भइसकेको थियो। अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई गाह्रो भयो। अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे। भेन्टिलेटर चलाए। पम्प दिए। तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए। अस्पताल ल्याएको आधा घण्टामै उनको मृत्यु भयो।
ममी, बहिनी र म आएका थियौं। रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृत्युको खबर सुनायौं। भोलिपल्ट हामीले उनको शव सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले कोरोना परीक्षण गर्ने भनेर लैजान दिएन। शुक्रबार पनि हामी दिनभरि शव लैजान कुर्यौं। अस्पताल प्रशासनले शनिबारसम्म रिपोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो। हामीले आफन्तलाई त्यही जानकारी गरायौं। शनिबार बिहान फेरि शव दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे। अस्पतालले नभने पनि श्रीमतीको मृत्यु कोरोनाले भएको हो कि भन्ने शंका लाग्यो।
केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् । त्यसपछि उनको मृत्यु कोरोनाकै कारण भएको रहेछ भन्ने लाग्यो । अस्पतालमा केही कर्मचारीले मृत्युको कारण कोरोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ । उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रुन्छु । मैले चिन्ता लिँदा आमा र बहिनीले पनि चिन्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु। अस्पतालले शनिबार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ। रिपोर्ट के आउने हो र?
लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो रु सोचिराछु। हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं। टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ। यो समाचार आजको कान्तीपुर दैनीकमा छ।