काठमाडाैं- सरकारले कोरोनाभाइरस अर्थात कोभिड-१९ को जानकारी दिन तयार पारेकाे 'हाम्रो स्वास्थ्य' एप अब एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध भएको छ। यस अघि छुट्टै वेब लिङ्कमा मात्र उपलब्ध रहेकाे 'हाम्रो स्वास्थ्य' एप अब मोबाइल एपकाे रूपमा पनि उपलब्ध गराइएकाे हाे।
सरकारले कोरोनाभाइरस संक्रमितलाई ट्रेसिङ्ग गर्ने र यसबारे सम्पुर्ण जानकारी दिने उद्देश्यका साथ यो एप तयार पारेको थियाे। यसमा कोरोना भाइरस सम्बन्धि नेपाल लगायत विश्वभरिको पछिल्लो अवस्था तथा तथ्यांक पाउन सकिन्छ।
यसैगरी यस एपमा हालसम्म कति नमूना परीक्षण भए, रिजल्ट कस्तो आयो लगायतका जानकारी समेत राखिएको छ। यस्तै कोरोना भाइरस परिक्षण हुने देशभरीका अस्पताल तथा स्वास्थ्य संथाहरूको जानकारी दिइएको छ भने हटलाइन सम्पर्क नम्बरहरु पनि यसमा पाउन सकिन्छ।
सो जानकारिलाई प्रभावकारी तुल्याउन छेउमा नक्सामा हेर्नुहोस् भन्ने रातो ट्याब राखेको छ, जसबाट देशभरका स्वास्थ्य सेवाहरु तथा संक्रमणको तथ्यांकलाई अझ थप व्यवस्थित तरिकाले अवलोकन र जनाकारी लिन सकिने छ।
यसका साथै कोरोनाभाइरस सम्बन्धि कुनै लक्षण देखिएमा यस वेबसाइटबाट फर्म भरी रिपोर्ट गर्न सकिनेछ। जसको लागि वेबसाइटमा छुट्टै लक्षण मूल्यांकन नामक ट्याब उपलब्ध गराएको छ। साे फारम भरी आफ्ना लक्षणहरूको मूल्यांकन गर्ने सकिने छ भने त्यसलाई रिपोर्ट समेत गर्न सकिनेछ।
यसैगरी यस वेबसाइटमा सरकारले गरिरहेका कामहरुको पनि जानकारी दिइएको छ। सरकारका दैनिक रिपोर्टहरु यसमा राखिएको छ। सरकारकाे आधिकारिक सामाजिक सञ्जालहरू पनि यसमा समावेश गरिएकाे छ।
यस बाहेक सरकारले उपलब्ध गराएको ‘डाँफे हेल्थ डटकम’ नामक एक लर्निङ प्लाटफर्म पनि यसमा समावेश गरिएकाे छ। यसका लागी छुट्टै इ- लर्निङ पाेर्टल नामक निलाे ट्याब उपलब्ध गराएको छ। सरकारले याे लर्निङ पाेर्टल डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई कोभिड-१९ बारेमा आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन तालिम वा कोचिङ प्रदान गर्ने उद्देश्यका साथ तयार पारेको थियो।
यसकाे अलवा ‘हाम्रो स्वास्थ्य’ एपमा कोरोना सम्बन्धि प्राय सोधिने प्रश्नहरु, भ्रम र यथार्थ, आफू र अरुलाई बचाउने तरिका तथा कोरोनाका लक्षणहरु पनि समावेश गरिएको छ। यस्तै कोरोना सम्बन्धि थप जनाकारीका लागि महत्वपूर्ण लिंकहरू पनि यसमा पाउन सकिने छ।
एन्ड्रोइड प्रयाेगकर्ताले यहाँ र आईओएस प्रयाेगकर्ताले यहाँ क्लिक गरि याे एप डाउनलोड गर्न सक्नुहुनेछ। यस बाहेक ‘हाम्रो स्वास्थ्य’ वेबसाइट बाट समेत याे एप डाउनलोड गर्न सकिन्छ।