काठमाडौं – नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नागढुंगामा खटिएका युवा स्वयंसेवी चन्द्रागिरिका उत्तम कार्की दुर्व्यवहाको आरोपमा पक्राउ परेका हुन्।
कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीहरुले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए।
उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी लिएको भन्दै आलोचना भएको छ। यसैबीच उक्त घटनाबारे छानबिन गर्न प्रहरीले दुई सदस्यीय छानविन समिति गठन गरेको छ।
प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति गठन गरेर छिटोभन्दा छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको डिआइजी पोखरले बताए।