आइतबार बसेको मन्त्रीपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको लागि गठित उच्चस्तरिय समन्वय समितीले लकडाउन अझै लम्ब्याउनुपर्ने निष्कर्षसहितको प्रस्तावलाई सरकारले सदर गरेको हो।
नेपालमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, क्वारेन्टिनमा रहेका बाँकेको नरैनापुरका २५ वर्षिय पुरुषको आइतबार विहान निधन भएको हो।
आईतबार राती थप तिनजनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिराटनगरमा २ जना र धनकुटामा १ जनामा संक्रमण देखिएकाे छ। याेसँगै आइतबार १४ जना थपिएर संक्रमितकाे संख्या २ सय ९५ पुगेकाे छ। जसमध्ये २ जनाको मृत्यू भएको छ भने ३६ जना निको भएका छन्।
नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नागढुंगामा खटिएका युवा स्वयंसेवी चन्द्रागिरिका उत्तम कार्की दुर्व्यवहाको आरोपमा पक्राउ परेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीहरुले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए।
छाती दुखेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन्। आइतबार बिहान उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन्। उनी बिहान ११ बजे अस्पतालमा पुगेका थिए। त्यसपछि उनको चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन्।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।
भारत सरकारले जेठ १८ गते सम्मको लागि लकडाउन लम्ब्याएको छ। भारतले यो चौथो चरणमा लकडाउनको अवधि थप गरेको हो। गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको थियो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
कोरोना भाइरस परीक्षण गर्ने किट नआइपुगेका कारण जिल्लामा एक हप्तादेखि कोरोना परीक्षणको काम रोकिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले यहाँका विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा कोरोनाको परीक्षणका लागि गाउँगाउँमा आरडिटी परीक्षण सञ्चालन गर्दै आएको थियो। किट सकिएसँगै उक्त परीक्षण रोकिएको हो। किट नआएका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण हुन सकेको छैन।
चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो। नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिएका छन्। नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ। चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ।
सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने बताएका छन्। सिंहदरबारमा आज बसेको समितिको बैठकका सहभागी सांसदहरुले कोरोना भाइरसका कारण विदेशमा जोखिमा परेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न नहुने धारणा राखेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताएका छन्। नेपाल सरकारको आव २०७७ र ७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाए।
जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न सशस्त्र प्रहरीले झापामा हवाई फायर गरेको छ। झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा पर्ने नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा हवाई फायर भएको हो। सिमाबाट करिब १ सय ५० भारतीय नेपाल प्रवेश गर्न खोजेका थिए। भारतिय नागरिकहरुले सशस्त्र प्रहरीमाथी नै आक्रमण गर्न थालेपछि हवाई फायर खोलेको सशस्त्र प्रहरीले बताएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ। सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।
कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन्।