रामपुर– पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ। गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको छ। स्थानीय लालीगुराँस ग्रामीण विद्युत् सहकारी संस्थामार्फत आयोजनाको काम थालनी गरिएको हो। नाकाबन्दी, सामान, गाउँमा सडकलगायत विविध समस्याका कारणले आयोजनाको काम ढिलो हुन पुगेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताएका छन्।
गत शनिवारदेखि वडा नं ४ का करीब ९५ र ६ का १६५ घरधुरीमा बिजुली बल्न शुरु भएको छ। आजभन्दा पन्ध्र दिनअघि वडा नं ५ का गाबुडाँडा, राइकोट, धनुबास र खरकडाँडा गाउँका करीब पाँच सय घरधुरीमा विद्युत् सुविधा पुगिसकेको छ। सो वडाका बाँकी गाउँ तथा बिजुली पुग्न बाँकी रहेका गाउँपालिकाका वडा नं ३ र ७ मा पनि विद्युतीकरणको काम भइरहेको छ। विद्युतीकरणका लागि एक घरधुरीबाट रु पाँच हजार शुल्क लिइएको छ।
तेत्तीस केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन रहे पनि अहिले यहाँ ११ केभी क्षमताको विद्युत् विस्तार गरिएको हो। पाँच वडामा गरेर करीब दुई हजार सात सय धरधुरी सो आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस वर्ष्भित्र गाउँका बाँकी सबै घरधुरीमा बिजुली बाल्ने योजना छ। टुकी, लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा प्रणालीका भरमा जीवन गुजारा चलाउन बाध्य यहाँका नागरिक अहिले घरघरमा बिजुली पुगेपछि खुशी भएको मित्यालवासी तथा मौलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडाले बताएका छन्।
विद्युत् महसुल बुझाउन भीड
लमही– विद्युत् महसुलमा छुट दिइने निर्णय भएपछि नेपाल विद्युत् प्राधिकरण कार्यालयमा विद्युत् महसुल बुझाउनेको भीड लाग्ने गरेको छ। प्राधिकरणले गार्हस्थ–सामुदायिकसमेत वर्गका १५० युनिटसम्मको विद्युत् खपत गर्ने ग्राहका हकमा चैत र वैशाखको विद्युत् बिलको इनर्जी शुल्क न्यूनतम सेवा शुल्कबाहेक मा २५ प्रतिशत छुट दिने निर्णयपछि प्राधिकरणमा महसुल बुझाउनेको बाक्लो भीड लागेको हो।
यही जेठ ६ गतेसम्म बुझाए छुटको व्यवस्था गरिएकाले पनि बढी भीड देखिएको प्राधिकरण तुलसीपुर शाखाका प्रशासन प्रमुख युवराज विष्टले भने, उनको अनुसार हाल २०७६ चैत र २०७७ वैशाखसम्मलाई सो छुट दिइएकाले दैनिक सयौँ उपभोक्ता शुल्क तिर्न आउँछन्।प्राधिकरणले महसुल अनलाइनबाटै घरबाट तिर्न मिल्ने भएकाले सो सुविधा प्रयोग गर्न आग्रहसमेत गरेको छ। प्राधिकरण तुलसीपुर शाखामा करीब ४० हजार ग्राहक छन्। रासस