तनहुँ– सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीले बन्दाबन्दीका कारण मुढा बुन्न पाएका छैनन्। बन्दाबन्दीका कारण तिनले मुढा बुन्ने कच्चा पदार्थ नहुँदा मुढा बुन्न नपाएका हुन्। कच्चा पदार्थ ल्याउन र उत्पादन सामग्री बजारमा लगेर बिक्री गर्न समस्या भएका कारण कैदीबन्दीको मुढा बुन्ने काम रोकिन पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।
पच्चीस जना क्षमताको कारागारमा हाल ७७ कैदी र ७५ थुनुवा गरी १५२ जना कैदीबन्दी छन्। तीमध्ये करीब ७० जनाले व्यावसायिक रुपमा मुढा बुनेर मासिक रु.सात हजारदेखि रु दश हजारसम्म कमाएर घरखर्च पठाउने गरेका छन्। बन्दाबन्दीका कारण काम गर्न नपाउँदा उनीहरु चिन्तित बनेका छन्। उनले भने, ‘अहिले केही काम नहुँदा उनीहरु मनोरञ्जनात्मक खेल खेलेर समय बिताउन बाध्य भएका छन्।’
बन्दाबन्दीका कारण आफन्तजनलाई भेटघाट गर्न आउने कार्यलाई कडाइ गरिएसंँगै कारागार क्षेत्र सुनसान हुने गरेको बताइएको छ। कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण नभए पनि कैदीबन्दीको चाप र गर्मी बढेसंँगै अहिले प्रयोगमा ल्याइएको उनले जानकारी दिएका छन्। बन्दाबन्दीमा जिल्ला अदालतबाट पठाइएका १२ थुनुवालाई नयाँ भवनमा राख्ने व्यवस्था गरिएको छ। रासस