बलेवा– गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटेपछि बागलुङमा जिल्लाव्यापी डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको छ। जिल्लाका दशवटै स्थानीय तहले डेङ्गुविरुद्धको अभियान थालेका हुन्। गत शुक्रबार धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण भेटिएपछि सचेतना र नियन्त्रण प्रयास थालिएको हो। स्वास्थ्य कार्यालयले आम नागरिकलाई लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको छ।
कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्य चौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ। तालिम पाएका स्वास्थ्यकर्मी दशवटै स्थानीय तहमा पुगेपछि अभियान शुरु भएको कार्यालयले जनाएको छ। लक्षण देखिएमा तत्काल परीक्षण गराउन भन्दै पालिकालाई पत्राचारसमेत गरेको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुराँले बताएका छन्।
‘सबै पालिका र धौलागिरि अञ्चल अस्पतालमा पुग्ने गरी परीक्षण किट पनि मगाएका छौँ’, उनले भने, ‘प्रदेश मन्त्रालयले किट उपलब्ध गराउने आश्वासन दिइसकेको छ।’ एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी शुरु भइसकेकोसमेत गुराँैले जानकारी दिएका छन्।
पालिकाले पनि स्वास्थ्य शाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन्। ‘पानी जम्ने गरी बनेका खाल्डाखुल्टी पुर्ने र धेरै लामखुट्टे बस्ने ठाउँमा धुवाँ लगाएर धपाउने काम पनि गरेका छौँ’, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘परीक्षणका लागि चाहिने किट पनि समयमै उपलब्ध गराउन भनेका छौँ।’
गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घरघरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताएका छन्। ‘सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले झुल टाँगेर सुत्नपर्छ, खनालले भने, ‘एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नपर्छ।’ गाउँ र बजार सबैतिर सरसफाइ अभियान चलाउन लागेकोसमेत उनले बताएका छन्।
बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टायर हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि प्रहरी, सेना र प्रशासनले पनि आग्रह गरेको छ। ‘लकडाउनका कारण दुई महिनादेखि अधिकांश स्थानका टायर अलपत्रै छन्, त्यस्ता स्थानमा प्रहरी परिचालन गरेर हटाउन र व्यवस्थापनमा समेत लगाएका छौँ’, प्रहरी निरीक्षक हेम केसीले भने, ‘कतिपय खाडल पुर्ने काममा पनि खटिनपरेको छ।’
लकडाउनको समयमा घरघरमा बसेकाले घर वरिपरि सफाइ गर्ने अभियान चलाउनसमेत गुरौँले स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन्। डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले छिमेकी म्याग्दीसँगै देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। एडिस लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को शुरुआतसँगै डेङ्गु ज्वरोको बिरामी बढ्न थाल्छ। रासस