बलेवा– चोरी सिकारीमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्व्शिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।
स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताएका छन्।
सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो।घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताएका छन्। लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ। उता विद्यालय तोडफोड गरेको आरोपमा जिल्लाको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्व्शिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्व्शिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो।
विद्यालयको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले महत्वपूर्ण कागजातसहित उनीहरुलाई नियन्त्रणमा लिएको ताराखोला प्रहरी चौकीका प्रमुख युवराज सलामीले जानकारी दिएका छन्। पूर्व्शिक्षक कार्कीको घरमा खानतलासी गर्दा प्रहरीले विद्यालयका महत्वपूर्ण कागजात फेला पारेको थियो। स्थानीयले यही जेठ ३ गते उनीहरु गाउँ घुमिरहेको देखेको भनेपछि प्रहरीले उनको घर पुगेर खानतलासी गरेको उनले बताएका छन्।
कार्यालय भवनमा रहेका टेबलमाथि चाउचाउ पोखिएको, दराजको साँचो फोरिएको, कार्यालय सञ्चालन गर्न आवश्यक कागजपत्र सबै निकालेको पाइएपछि घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिचौर पठाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको सलामीले जानकारी दिएका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई आग्रह गरेको छ। रासस