नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। कपिलवस्तुका ४ जना, झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कपिलवस्तु, मायादेवी गाउँपालिका–४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट आएका उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। उनीहरूकाे भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको हाे।
त्यस्तै कोशी अस्पताल विराटनगरकाे प्रयोगशालामा पीसीआर परीक्षणमा झापाका ९ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे। उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन्।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए। इटहरीका १८ वर्षिय युवक र सशस्त्र प्रहरी कर्मचारमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९१ पुगेको छ। सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो। नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।