काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याइछाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । सरकारको निति तथा कार्यक्रममा घोषणा गरिएको लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरिसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यो तथाकथित राष्ट्रवाद देखाउनका लागि तयारी गरेको होइन, यो कुनै तमाशा गििरएको होईन, यो फिर्ता लिनका लागि गरिएको हो, र फिर्ता ल्याउँछौं ।”
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको निति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले अब छिट्टै नेपालको झण्डा सम्बन्धि प्रावधान रहेको संविधानको अनुसुचि ३ संसोधन गर्न संसदमा प्रस्ताव आउने बताए । उक्त संविधान संसोधनको प्रस्ताव संसदबाट पारित हुने विश्वास समेत उनले व्यक्त गरे । उनले भने, “संविधानको अनुसुचि ३ संसदले पारित गरेका दिन देशमा दिपावली हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”
मन्त्रिपरिषद्ले पारित गरेको नयाँ नक्सा छिट्टै छापिने भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई एउटा ऐतिहाँसिक कामको संज्ञा दिए । यसले नेपालको मानचित्रमा एक खालको परिवर्तन आएको उनले बताए । भारतसँगको सिमा विवाद सजिलो नभए पनि कुटनितिक माध्यमबाटै समाधान गर्ने दोहोर्याउँदै प्रधानमन्त्रीले नेपाली भुमि मिच्ने भारतीय प्रवृत्तिप्रती ब्यंग समेत गरे ।
भारतको चिन्हमा चारतिर फर्किएको सिंह रहेको र त्यसको तल सत्यमेव जयते लेखिएको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले भने, “अब म सोध्छु भारतलाई, सिंहमेव जयते कि सत्यमेव जयते ?” सत्यमेव जयतेमा हामी सबैको विश्वास रहेको भन्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भुमि फिर्ता ल्याईछाड्ने प्रतिबद्धता ब्यक्त गरे ।