प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) सम्झौता राष्ट्रमाथिको विश्वाससँग जोडिएको हुनाले त्यसै छोड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको निति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले एमसिसि सम्झौता नगरेको भएपनि त्यसलाई छोड्न नमिल्ने बताए । उनले भने, “ अघिल्लो सरकारले एमसिसिले सम्झौता गर्याे, अघिल्लो सरकारको अविछिन्न उत्तराधिकारको रुपमा हामीले त्यसै छोड्न मिल्दैन, त्यसरी छोडियो भने कुटनीतिकरुपमा विश्वास रहँदैन।”
सरकारले आफ्नो निति तथा कार्यक्रमको २११ नम्बर बुँदामा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय के.भी.प्रसारण लाइन निर्माण कार्य अघि बढाउने घोषणा गरेको थियो । त्यसलाई घुमाउरो पाराले एमसिसि सम्झौता पारित गर्न खोजिएको भन्दै कतिपय सांसदहरुले गरेको टिप्पणीको जवाफ दिंदै प्रधानमन्त्री ओलीले प्रसारण लाइन बनाई छाड्ने बताए ।
उनले भने, “प्रसारण लाइन जसले भएपनि बनाउँछ, एमसिसि भए एमसिसिले बनाउँछ, अन्य भए अन्यले बनाउँछ वा हामी आफैंले बनाउँछौं, तर यो बन्छ।”
कतिपय हाइड्रोपावर कम्पनीले ट्रान्समिसन लाइन नभएर निर्माण कार्य समेत रोकेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उत्पादन भइरहेको विद्युत अन्तराष्ट्रिय बजारसम्म पुर्याउन पनि प्रसारण लाइन आवस्यक पर्ने बताए । “यो सरकारले लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ट्रान्समिसन लाइन बनाएरै छोड्छ”, उनले भने, “पेट काटेर भए पनि पटुका कसेर भएपनि बनाएरै छोड्छ।” ठट्यौलो पारामा प्रधानमन्त्रीले भने, “ट्रकमा त जाँदैन विजुली, ट्रान्समिसन लाइनबाटै जाने हो।”
प्रधानमन्त्री ओलीले एमसिसि सम्झौता संसदको प्रोपर्टीका रुपमा संसदमा आईसकेको भन्दै पास गर्ने वा नगर्नेबारे सदनले नै निर्णय गर्न सक्ने बताए। लामो समयदेखि एमसिसिको पक्षमा वकालत गर्दै आएका प्रधानमन्त्री ओलीले भने, “पास नगर्ने भन्ने दलका निश्कर्ष निस्कन्छन् भने ती दलहरुले संसदमा आफ्ना सांसदहरुलाई ह्वीप लगाउनुपर्याे।”
प्रधानमन्त्री ओलीले आफ्नो सरकार अल्पअवधिको नभएर ५ बर्षको लागि भएको समेत दोहो¥याए । “यसले ५ बर्षको अगाडीदेखि पछाडिसम्मको योजना हेरेर काम गर्छ”, उनले भने, “कोरोनाले अलिकती डिस्टर्ब गर्यो हाम्रो काममा।” कोरोना नियन्त्रणका सन्दर्भमा नेपालले बेटर पर्फमेन्स गरेको प्रधानमन्त्रीले दावी गरे ।