संघिय संसदले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संसदले मंगलबार पारित गरेको हो । संघिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको मंगलबार बसेका अलग अलग बैठकबाट निति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
निति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफपछि निति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
प्रतिपक्षमा रहेका दलहरुले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका छन्। यद्यपि संसदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेका कारण प्रतिपक्षी दलहरुको समर्थन बीना पनि निति तथा कार्यक्रम पारित भयो ।
मंगलबार पारित भएको नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी जेठ १५ गते संसदमा बजेट पेश गर्नेछ । प्रत्येक बर्षको जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।