ललितपुर– काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन्। स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन्। यो एक महिनाभित्र सङ्क्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ।
ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मङ्गलबार हरिसिद्धिमा परीक्षण गरेको थियो। कतिपयको पिसिआर त कतिपयको आरडिटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ। शनिबार २११ को र आइतबार १४८ जनाको पिसिआर विधिबाट परीक्षण भएको थियो। शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ।
महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो। त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो। उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिएका छन्। मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिएका छन्।
त्यस्तै गोदावरी नगरपालिकामा आइतबार ९६ जनाको स्वाब र १०९ जनाको आरडिटी परीक्षण गरिएको थियो।नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले सोमबार गोदावरीमा ६४ को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको र १०९ को आरडिटी परीक्षण गरिएको जानकारी दिएका छन्। त्यस्तै मङ्गलबार सात जनाको स्वाब सङ्कलन र १३ जनाको आरडिटी परीक्षण गरिएको शाहले जानकारी दिएका छन्। उनले भने, ‘आरडिटी नेगेटिभ आइसकेको छ भने पिसीआरको रिपोर्ट आउन बाँकी नै छ।’
महालक्ष्मी नगरपालिकाले आइतबार र सोमबार रेडजोनमा परेका जिल्लाबाट आएका, विदेशबाट आएर अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका व्यक्तिलगायतको परीक्षण भइरहेको जनाएको छ।आइतबार ६७ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको र १९१ जनाको परीक्षण गरिएको थियो। त्यस्तै सोमबार ९२ स्वाब सङ्कलन र १७६ को आरडिटी परीक्षण गरिएको छ। आरडिटी परीक्षणको नतिजा नेगेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षणको नतिजा आउन बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताएका छन्।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिकाले पनि कोभिड–१९ को परीक्षण अघि बढाइरहेका छन्। शनिबार महाँकाल गाउँपालिकाले ६१ को स्वाब र १३८ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताएका छन्। उनले भने, ‘हाम्रो गाउँपालिकाभित्रका हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएको छ।’ कोञ्ज्योसोम गाउँपालिकाले शुक्रबार नै ६० को स्वाब सङ्कलन र १३६ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिएका छन्।
उनले भने, ‘६२ जनाको नै स्वाब सङ्कलन गरी टेकु पठाउँदा सबैको रिपोट नेगेटिभ आएको छ।’ वाग्मती गाउँपालिकाले आज कोरोना परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताएका छन्। उपत्यकामा यो साता कोभिड–१९ सङ्क्रमित भेटिन थालेसँगै यहाँका सबै पालिकाले परीक्षण गरिरहेका हुन्।
ललितपुरमा पहिलोपटक मङ्गलबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित व्यक्ति कुन पालिकाको हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन। सबै पालिकाले कोभिड–१९ को परीक्षण अघि बढाइरहेकामा स्वास्थ्य मन्त्रालयले ती एकबाहेक अरु सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताएको छ। रासस