१. लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार (आज) सार्वजनिक गरेको छ। मन्त्रिपरिषदबाट सोमबार पारित भएको नेपालको राजनितिक र प्रसाशनिक नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा औपचारिक रुपमा सार्वजनिक गरिएको हो।
२. गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन्। छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन्।
३. ३ वर्षिय बालक सहित बुधबार २५ जनामा काेराेना, संक्रमितकाे संख्या ४ सय २७
आज ३ वर्षिय बालक सहित २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेका छन्।
४. नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित
राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले ‘बीउबिजन–दोस्रो संशोधन विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण पहिलो संशोधन विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
५. गुल्मीका संक्रमित जीवीतै छन्: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुटवलको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यू नभएको स्पष्ट पारेकाे छ। बुधबार विभिन्न सञ्चारमाध्यमले कोरोनाका कारण गम्भिर अवस्थामा रहेका ४१ वर्षिय पुरुषको मृत्यू भएको खबर प्रकाशीत गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रीफिङ्गमा बुधबार मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकाेटाले उनकाे मृत्यू नभएको स्पष्ट पारेका हुन्।
६.पिसिआर परीक्षणको शुल्क तोकिएको छैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो ।
७. काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक
नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ। काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ।
८. अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ। निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ।
९. कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा
महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि करिब १ सय ५० जना प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ।महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो।
१०. कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने
विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार धेरै जनसङ्ख्यालाई कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि सामग्री, मल र बीउबिजन खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
११. भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित
भारतमा कोरोनाभाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन्।