जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ। सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए। उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पु¥याएको बताइएको छ। उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन्। उनीसँगै आएको डुङ्गामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ। उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पु¥याएकोले उनको पिसिआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीको टोलीले उनको टसिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताउनुभयो । यही जेठ ३ गते स्वाब सङ्कलन गरी पठाइएकामा ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ।
ट्रेसिङ्गको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्क्रमित दुई पुगेका छन्। यसअघि प्रतापपुर गाउँपालिका–५ का एक युवकमा सङ्क्रमण पुष्टि भएको थियो। उनको भीम अस्पतालमा उपचार भइरहेको छ। रासस