एजेन्सी - एप्पल कम्पनीकै सबैभन्दा सस्तो आईफोन आजबाट भारतमा बिक्री सुरु भएको छ। कम्पनीले लामो समयदेखि चर्चाको विषय बनेको आइफोन ९ अर्थात आईफोन एसई २०२० (iPhone SE 2020) काे बिक्री सुरु गरेको हाे। ई-कमर्स वेबसाइट फ्लिपकार्ट (Flipkart) बाट यसलाई अनलाइन खरीद गर्न सकिने कम्पनीले जनाएकाे छ।
गत अप्रिल महिनामा सार्वजनिक भएकाे आईफोन एसई हेर्दा आइफोन ८ जस्तै देखिए पनि यसको आन्तरिक डिजाइन भने आइफोन ११ सिरिजकाे आधारमा डेभलभ गरिएकाे कम्पनीले जनाएकाे छ।
आइफोन ८ मा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको रेटिना एचडी डिस्प्ले प्रयोग भएको छ। याे आइफोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको बताएको छ। फेस आईडी नभएकाे हुनाले कम्पनीले यसमा फिंगरप्रिन्ट सेन्सर समावेश गरेकाे छ र यसलाई पावर बटनभित्र इन्टिग्रेट गरेकाे छ।
यस नयाँ आइफोन एसई मा १२ मेगापिक्सेल मुख्य क्यामरा र ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। यसमा एप्पलको ए १३ बायोनिक चीपसेट प्रयोग भएको छ। याे ६४, १२८ र २५६ जीबी गरि तीन भेरियन्टमा उपलब्ध छ। सेतो, कालो र रातो गरी तीन फरक कलरमा सार्वजनिक भएको याे आइफोन एल्युमिनियम र सिसाबाट बनेकाे छ। यसकाे साइज 138.4 x 67.3 x 7.3 एमएम र ताैल १४८ ग्राम रहेकाे छ।
एप्पलले यो स्मार्टफोन इमर्जिंग बजारहरुलाई केन्द्रित गरेर लन्च गरिएकाे बताएकाे छ। भारतमा पहिलाे पटक बिक्री सुरु भएको आईफोन एसई (६४ जीबी भेरिएन्ट) काे सुरुवाती मूल्य ४२ हजार ५ सय भारतिय रुपैंया निर्धारण गरिएकाे छ। जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ६७ हजार ६ सय रुपैंया पर्न आउँछ।
यस्तै १२८ जीबी भेरिएन्टको आईफोन एसईकाे मूल्य ४७ हजार ८ सय भारतिय रुपैंया तोकिएको छ भने २५६ जीबी भेरिएन्टको मूल्य ५८ हजार ३ सय भारतिय रुपैंया रहेकाे छ। यसलाई नेपाली मूल्यमा रुपान्तरण गर्ने हाे भने क्रमश लगभग ७६ हजार ५ सय र ९३ हजार ३ सय रुपैंया पर्न आउँछ।
एचडीएफसी (HDFC) डेबिट वा क्रेडिट कार्ड भएका खरीदकर्ताले ३ हजार ६ सय भारतिय रुपैंया छुट पाइने कम्पनीले जनाएकाे छ। यस अनुसार ६४ जीबी भेरिएन्टकाे आईफोन एसई ३८ हजार ९ सय भारतिय रुपैंया, १२८ जीबी भेरिएन्टको ४२ हजार २ सय र २५६ जीबी भेरिएन्टको ५४ हजार ७ सय भारतिय रुपैंयामा खरीद गर्न सकिने छ। अबकाे केहि महिनामा यो आईफोन नेपाली बजारमा पनि आउने अनुमान गरिएकाे छ।