कैलालीको बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकाका अपाङ्गता भएकालाई राहत उपलब्ध गराइएको छ। दिगो विकास समाजले बर्दगोरियाका अपाङ्गता भएकालाई राहतका लागि गाउँपालिकालाई सहयोग गरेको छ। समाजका अध्यक्ष रामबहादुर सुनारले बर्दगोरियाका उपाध्यक्ष भगवती डगौरा थारूलाई १५ क्विन्टल चामल, एक क्विन्टल ५० किलो दाल, १०० लिटर खानेतेल, एक क्विन्टल चिनी, ५० –५० थान स्यानिटाइजर र सर्जिकल मास्क र २०० साबुन हस्तान्तरण गरेको हो। समाजले दिएको सामान गाउँपालिकाले स्थानीय पालिकाले अपाङ्गता भएकालाई वितरण गरेको छ।
गाउँपालिकाले वडा नं ४, ५ र ६ मा रहेका अपाङ्गता भएका ५० जनालाई वितरण गरेको हो। उनीहरुलाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, दुई किलो आयोडिन नून, एक लिटर खानेतेल, दुई किलो चिनी, चार थान साबुन तथा स्यानिटाइजर र मास्क वितरण गरिएको छ। राहत पाएपछि सोनमती कठरियाले कोरोनाको रोकथामका लागि लामो समयसम्म लकडाउन हँुदा जीविकोपार्जनमा समस्या भएको बताएका छन्।
“अन्य नागरिकभन्दा हामी अपाङ्गता भएका बढी समस्यामा छौँ”, कठरियाले भने, ‘‘हामी कामकाज गर्न सक्दैनाैँ, सामान्य सीपमूलक काम गर्नेले समेत गर्न पाएका छैनौँ, यस्तो बेलामा सरकारले सहयोग गर्नुपर्छ।’ क र ख वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिलाई पहिलो ग्राह्यता दिँदै राहत वितरण गर्नुपर्ने अपाङ्ग समाजको माग छ। “यस्तो विपत्तिमा अपाङ्गता भएका तनावमा छन्, उनीहरुलाई सामाजिक दूरी कायम गर्न पनि समस्या छ”, अपाङ्गता भएकाहरुका अगुवा गणेश पहराई भन्छन्, ’दृष्टिविहीन, हिँडडुल गर्न नसक्ने बढी जोखिममा छन्।
सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै सहयोगी पाउनसमेत समस्या भएको छ।’बर्दगोरिया गाउँपालिकाले अपाङ्गता भएकालाई प्राथमिकता दिएर राहत वितरण गरिरहेको उपाध्यक्ष थारूले बताएका छन्। ‘अहिले सामाजिक दूरी कायम गरी एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको छ’, उपाध्यक्ष डगौराले भने, ‘अपाङ्गता भएका सबैलाई राहत दिन गाउँपालिका तयार छ।’ (रासस)