काठमाडौं– बन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरु विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन्। सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै विद्यार्थीलाई सिकाइमा निरन्तर जोड्न शिक्षकका राष्ट्रिय संस्थाले प्रशिक्षण र सहजीकरण गरिरहेका छन्।
सहजीकरणका क्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ललितपुर जिल्ला समितिले २० दिने ‘टिचिङ विथ आइसिटी कम्पेटेन्सी बेस्ड अनलाइन वर्कसप’ सञ्चालन गरेको छ। कूल १६७ शिक्षक नियमित सहभागी उक्त अनलाइन प्रशिक्षणमा यही जेठ ९ गतेसम्म चल्नेछ।
प्रशिक्षण गत वैशाख ३१ मा शुरु भएको सो सङ्गठनका जिल्ला अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले जानकारी दिएका छन्। कार्यशालाको संयोजनविज्ञ शिक्षक दिनेशकुमार थापा तथा प्राविधिक सहयोग शिक्षक रामचन्द्र सुवेदी र हरि खड्काले गरिरहेका छन्।
प्रशिक्षणकै सन्दर्भमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा, महासचिव हंश शाही, केन्द्रीय सदस्य कमला थापालगायतले शुभकामना र प्रशिक्षण दिएका छन्र। प्रशिक्षणमा विभिन्न विषयका विज्ञ र शिक्षाका केन्द्रीय निकायका अधिकारीले पनि सहजीकरण गरिरहेको जनाइएको छ। रासस