कोहलपुर– कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएपछि नेपाल भारत सीमानाका बाँकेको जमुनाहा आसपासमा सेनिटाइज गरिएको छ। बाँकेको सीमानाकामा भारतबाट आउने र नेपालबाट भारत जाने मानिसको चहलपहल बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीमानाकाका आसपासमा सेनिटाइज गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिएका छन्।
भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपाली नेपाल भित्रिँदा व्यक्तिको लगत र आरडिटी गर्दा दुई दिन नाकामा रोकिएकाले उनीहरु बसेको ठाउँ र आसपासमा सेनिटाइज गरिएको जनाइएको छ। उपमहानगरपालिकाले भारतबाट अत्यावश्यक सामग्री लिएर आउने मालवाहक गाडीलाई पनि सेनिटाइज गर्दै आएको छ।
बाँकेको सीमानाका हुँदै नेपाल आएका एक हजारभन्दा बढी मानिसलाई क्वारेन्टिनमा राख्ने गरिएको छ। बाहिरी जिल्लाबासीलाई सम्बन्धित ठाउँमा पु¥याउनका लागि पहिचान भइरहेको जनाइएको छ। रासस