प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले भारतसँगको सिमा समस्याका सम्बन्धमा उत्तेजना फैलाउने किसिमका अभिब्यक्ति दिएको टिप्पणी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा र अभ्यास विपरित छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको भन्दै कांग्रेसले यसबाट अनावस्यक विवाद र जटिलताहरु थपिएको निश्कर्ष निकालेको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मंगलबार र बुधबार बसेको अनलाइन बैठकले समस्याको गहिराइमा पुगेर समाधान खोज्नुको सट्टा ओली सरकारले राष्ट्रवाद र राष्ट्रियताका नाम विगतमा झैं नाटक मात्र मञ्चन गरेको ठहर गरेको छ। कांग्रेस उपसभापति समेत रहेका प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले सीमा समस्याहरुको स्थायी समाधानका लागि शान्तिपूर्ण रुपले उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकपछि विहिबार जारी विज्ञप्तीमा “भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय नेपाल र नेपालीहरुकालागि गम्भीर र आपत्तिजनक” भएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, “केही वर्ष पहिले भारत र चीनले लिपुलेकबाट व्यवसायिक मार्ग खोल्ने सहमति गरेका समय नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसँग आपत्ति प्रकट गर्नुभए पनि त्यसपछि आएको ओली नेतृत्वकै सरकार मौन बस्दा आजको परिणाम आएको हो ।”
भारतले नेपाली भुमि समेटेर नक्सा सार्वजनिक गरेको आठ महिनापछि सरकारले नेपाली भुभाग समेटिएको नक्सा जारी गरेको विषयलाई अन्यथा मान्न नसकिने कांग्रेसले बताएको छ ।
“नेपाली भूमि समेत समावेश गरी भारतले जारी गरेको नक्सालाई लिएर प्रधानमन्त्री ओलीले गत कार्तिकमा आयोजन गर्नुभएको सर्वदलीय वैठकमा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्न र यससँग उत्पन्न सबै विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता प्रकट गर्नुभएको थियो”, विज्ञप्तीमा भनिएको छ, “यसको करीव आठ महिनापछि मात्र लिपुलेक, कालापानी, लिम्पियाधुरा समेत समेटिएको नक्सा सरकारले जारी गरेको छ । यसलाई कुनै पनि नेपालीले अन्यथा मान्न सक्दैन ।”
लिपुलेक हुँदै व्यवसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक रहेको प्रतिष्ठानको निश्कर्ष रहेको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी कांग्रेसले सगरमाथाका विषयमा चीनीया पक्षबाट आइरहेका अनेक विवादास्पद टिप्पणी र दावीहरु गम्भीर रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ ।