गलकोट - चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन्। लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन्। आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना यो अवधिमा भएका पाइएको छ।
सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए। उनका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा आठ झुण्डिएर आत्महत्या गरेको मुद्दा छन्। यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आत्महत्या दुरुत्साहनको एक मुद्दा छ।
लकडाउनकै अवधिमा जिल्लामा चार अभद्र व्यवहारका घटनाका मुद्दा परेका छन्। यो समयमा चोरीको एउटा मात्र घटना भएको छ। नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षाका कारणले गर्दा अझै पनि मानिसले आत्महत्याको बाटो अँगाल्ने गरेको बताए।
प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याका मुख्य कारण भएका हुनसक्ने प्रहरीको बुझाइ छ। यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरीक्षक केसी बताउछन्। रासस