काठमाडाैं - सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।
शुक्रबारको बैठकमा सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे केही छलफल नगरेको स्रोतले बताएको छ। यसअघि यसबारेमा ठोस निर्णय लिने भनिएको थियो।
यसअघि नै उच्चस्तरीय समितिले भारतीय सीमाका २० वटा प्वाइन्टबाट नेपालीलाई प्रवेश गर्न दिने भनिएको थियो। त्यस्तै उनीहरूको रेकर्ड राखेर क्वारेन्टाइनमा राखेर आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरूमा पठाउने सुझाव दिएको थियो।