कपिलवस्तु– कपिलवस्तुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ। १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन्। ती मध्ये वाणगङ्गाका पाँच, मायादेवीका तीन र कपिलवस्तुका एक रहेका छन्।
मायादेवीका तीन र वाणगङ्गाका तीन सङ्क्रमित भारतबाट गत वैशाख २९ गते स्वदेश फर्किएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन्। उनको अनुसार वाणगङ्गा–७ का ५३ वर्षीय, वडा नं ५ का २७ वर्षीय, वडा नं १० का २५ वर्षीय, वडा नं ८ का २४ वर्षीय पुरुष रहेका छन्। सङ्क्रमित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेको वाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिएका छन्।
सङ्क्रमितलाई आइसोलेसनमा राख्ने विषयमा नगरमा छलफल गरी व्यस्थापन गरिने उनले बताएका छन्। यस्तै वाणगङ्गा–४ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ। बालिका आफ्नै घरमा रहेको सो गाउँपालिकाले जनाएको छ। मायादेवी– ४ का ४५ वर्षीय, वडा नं ५ का ३४ र ३६ वर्षीय दुई पुरुष रहेका छन्। तीन सङ्क्रमितलाई जनता प्रावि गौरामा राखिएको छ। मायादेवीमा भोलिसम्म आइसोलेसन तयार गरी व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीले जानकारी दिएका छन्। कपिलवस्तु नगरपालिका–३ मा २९ वर्षीय पुरुषलाई सङ्क्रमण देखिएको छ।
दुई पत्रकार सङ्क्रमित
आज सङ्क्रमण पुष्टि भएमध्ये दुई सञ्चारकर्मी रहेका छन्। ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्। ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टिनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार वाणगङ्गा– ४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना सङ्क्रमण भएको छ। यसभन्दा अगाडि सोही स्थानकी छ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो। त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा सङ्क्रमण देखिएको हो। काठमाडौँमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालार्ई काठमाडौँ लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो।
ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिएका छन्। कपिलवस्तुका सबै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन्। ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन्। यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन्। रासस