काठमाडाैं - नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेकाे बताए।
उनका अनुसार संक्रमितहरु कैलालीका ३ पुरुष ( १९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन्।
यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।