नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन्। भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो। जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन।
जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन्। त्यसै गरी स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन्। स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले बताएका छन्।
भारतका विभिन्न शहरमा रोजागारीका लागि गएकामा प्युठानका करीब ३१ हजार रहेको स्थानीय तहको तथ्यांङ्क रहेको छ। भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिएका छन्। ‘सीमामा अलपत्र परेका नागरिकको उद्धार गरिरहेका छौँ’, रोकायले भने, ‘१४ दिन क्वारेन्टाइनमा राखी परीक्षणपछि मात्रै घर पठाउने छौँ।’ जिल्लामा ल्याइएका नागरिकको कुनै प्रकारको परीक्षण गरिएको छैन। परिक्षणविना भित्रिएका नागरिकको क्वारेन्टिन बसाइ अवधिभर कोरोना कोषको बजेटबाट ब्यवस्थापन गर्ने गरिएको रोकायको भनाइ छ। (राससं)